आनन्द प्रसाद पोखरेलः अविश्राम राजनीतिज्ञ
आनन्द प्रसाद पोखरेल नेपालको प्रखर कम्युनिस्ट नेताहरू मध्येका एक हुन । लामो समयदेखि बामपन्थि राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका पोखरेल बैचारीक सिद्धान्त निष्ट , ज्ञान, तर्क क्षमता र वाककलाका लागि लोकप्रिय छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज पोखरेल पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत हुन । संसदमा तार्किक बहसको लागि कहलिएका थोरै नेताहरु मध्यमा पर्ने पोखरेलले कम्युनिष्ट सिद्धान्त, संगठन र योजनासंग सम्बन्धित केहि पुस्तकहरु समेत प्रकाशन गरेका छन् ।
नेपालबाट प्रकाशीत हुने दैनिक पत्रिकाहरु र केही अनलाईनमा उनका विचार प्रधान फुटकर लेख– रचना समेत प्रकाशन हुदै आएका छन् । एमालेको बैचारीक तथा सांगठनिक गतिविधि, कम्युनिष्ट विचार र संगठन, विदेश नीति, जलस्रोत, पर्यटन, बन पैदावर र जलवायु परिर्वतन जस्ता विषयहरुमा केन्द्रीत रहेर बिभिन्न टेलिभिजन तथा एफएम रेडियोहरुले बेला– बेलामा उनको अन्र्तवार्ता समेत लिदै आएको छ ।
राजनीतिक सिद्धान्त, जलवायु परिर्वतन, विकास नीति लगायत थुप्रै विषयमा उनले अन्तराष्ट्रिय सेमिनारहरुमा समेत कार्यपत्र प्रस्तुत गरिसकेका छन् ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर– ३ जफेमा २०१६ साल फागुन २९ गते जन्मिएका आनन्द प्रसाद पोखरेल, पिता इन्द्र प्रसाद पोखरेल र माता रन्धत्ता पोखरेलको जेष्ठ सुपुत्र हुन् । पोखरेलको श्रीमती मिठू पोखरेल, दुई छोरा, एक छोरी, बुहारीहरु र पाँच जना नाति– नातीनाहरु छन् ।
शैक्षिक योग्यता :-
२०३३ सालमा एसएलसी परिक्षा दिएका पोखरेलले विएससी एजी, बिएल तथा ग्रामिण विकास र राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । हाल उनी बुद्धदर्शनसंग सम्बन्धि विषयमा एमफिल– पिएचडीको तयारी गर्दैछन् ।
राजनीतिक यात्रा :-
कक्षा ७ मा अध्यन गर्दैगर्दा २०२९ सालमा अनेरास्ववियुको सदस्यता लिएका पोखरेल २०३२ सालमा अखिल नेपाल कोअर्डिनेशन केन्द्र युथ लिगमा संलग्न भै क्रियाशिल रहेका थिए ।
सामाजिक विकास र राजनीतिक परिर्वतनको चेतना भएका पोखरेल २०३५ साल पौष ११ गते नेकपा माले गठन भएदेखिनै युवाहरुको नेतृत्वगर्दै आन्दोलनमा सक्रिय बनेका थिए । अध्यनको सिलसिलामा चितवन पुगेका पोखरेल अनेरास्ववियुको चितवन जिल्ला समिति अध्यक्ष, नारायणी अञ्चलको सचिव र सातौ राष्ट्रिय अधिवेशन आयोजक समितिको सदस्य बनेका थिए । उनी नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्य, प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च दोलखाको सचिव र जनपक्षिय मञ्चको केन्द्रीय सदस्य समेत बने ।
राजनीतिक परिर्वतनको लागि विद्यार्थी, युवा र शिक्षकको मोर्चामा रहेर बिभिन्न जिम्मेवारी पुरा गरेकोपोखरेलले २०४३ देखि २०४६ सम्म तत्कालिन नेकपा मालेको जिल्ला संगठन समितिको सदस्य रहेर काम गरेका थिए । विचारमा स्पष्ट र दृढ पोखरेल यो तीन बर्षको अवधिमा बिभिन्न झुट्टा मुद्दाको सामना गर्दै १३ पटक जेल र हिरासतमा रहन बाध्य भए ।
राजनीतिक पार्टीमा नेतृत्व गर्ने क्रममा पोखरेल २०५४ देखी २०५९ सम्म नेकपा एमाले दोलखाको सचिव, २०६० देखि २०७० सम्म नेकपा एमाले बागमति अञ्चल (बागमति प्रदेश) संगठन कमिटी सदस्य, २०७५ सालमा नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य तथा बागमति प्रदेश संगठन कमिटीको सचिव, २०७७ सालमा नेकपा एमाले बागमति प्रदेश संगठन कमिटी अध्यक्ष र २०७८ देखी हालसम्म नेकपा एमालेको केन्द्रीय पोलिटब्युरो सदस्य तथा संगठन विभाग सदस्य रहेका छन् । हाल उनी नेकपा एमालेको काठमाडौँ जिल्ला इन्चार्ज समेत हुन् ।
निर्वाचित पद :-
तत्कालिन नेकपा मालेले पञ्चायत व्यवस्थालाई उपयोग गर्दै जनताको पक्षमा काम गर्ने नीति लिएपछि पोखरेलले २०४३ देखी २०४५ सालसम्म दोलखाको जफे गाउँपञ्चायतमा जनपक्षिय उम्मेदरवारको रुपमा प्रधानमञ्चमा निर्वाचित भै जनताको पक्षमा काम गरेका थिए । यो अवधिमा पोखरेलले जनताको सेवासंगै राजनीतिक परिर्वतनको लागि समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
२०४६ सालको राजनीतिक परिर्वतन पछि पोखरेल २०५६ देखि २०५९ सम्म प्रतिनिधि सभा सदस्य, २०६३ देखि २०६४ सम्म पुर्नस्थापित संसद सदस्य र २०७० सालमा संविधान सभाको सदस्यमा निर्वाचित भएका थिए । उनले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
२०७० सालको संविधान सभा निर्वाचन पछि २०७२ सालमा संविधान निर्माणसंगै गठन भएको पहिलो सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीसमेत बनेका थिए ।
पञ्चायति कालमा जनपक्षिय प्रधानमञ्च र प्रजातन्त्र प्राप्ति पछि प्रतिनिधि सभा र संविधानसभा सदस्य बनेका पोखरेलले पञ्चायति व्यवस्थामा प्रधानपञ्च भएपनि जनताको पक्षमा स्पष्ट ढङ्गले बोल्ने, जनसरोकारको विषयहरु उठाउने र राज्यको दवावका बाबजुद पञ्चायतको भण्डाफोर तथा बहुदलको प्रचारमा निरन्तर सक्रिय रहे । प्रतिनिधि सभा र संविधानसभा सदस्य भएको बेला उनी संविधान निर्माण तथा मुलुकको लागि आवश्यक ऐन– कानुन निर्माणसंगै विद्यालय निर्माण, खानेपानी योजना सञ्चालन, सडक तथा सिंचाईको व्यवस्था, हाईड्रो पावर निर्माण, आयआर्जन, सामुदायीक अधिकार लगायतका विषयमा निरन्तर सक्रिय रहदै आए ।
२०७२ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बनेका पोखरेलले नेपालको पर्यटन प्रवद्धन, संस्कृति संरक्षण तथा अन्तराष्ट्रिय पर्यटन बजारमा नेपालको पहिचानको लागि खेलेको भूमिकालाई अहिले पनि सबैले प्रशंसा गर्दछन् । भिजिट नेपाल २०२० को तयारी, धार्मिक पर्यटन प्रर्वद्धन र बुद्ध सर्किट विकासमा देखाएको अग्रसरता, पशुपतिनाथ, बौद्ध, भक्तपुर दरवार क्षेत्र लगायतका सांस्कृतिक सम्पदा पुर्ननिर्माण, हवाई क्षेत्रको सुधार, विमानस्थल सुरक्षा र सुधार सम्बन्धि नीति कार्यान्वयन, दोलखाको कालिञ्चोक, दोलखा भीमेश्वर क्षेत्रको भुकम्पबाट क्षेति ग्रस्त सम्पदा पुननिर्माणको कार्ययोजना स्विकृत गराई काम सम्पन्न गर्न महत्वरुर्ण योग्दान गरेको छन । तामाकोशी क्षेत्रलाई धार्मिक तथा पर्यटनको हव बनाउने योजना निर्माण, माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणमा पोखरेलले खेल्नु भएको भूमिका अतुलनीय छ ।