- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः असोज २२-काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्वर ६ मा बसले ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते हुनुभएको छ ।काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा२ख ६५७९ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको सडक विभागको बा ५ ख ६८३ नम्बरको आइचर ट्रकलाई पाँचखाल नगरपालिका–६ दुलालथोकमा ठक्कर दिएको प्रहरी चौकी पाँचखालका प्रहरी निरीक्षक प्रशान्त तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बसले ठक्कर दिँदा ट्रक अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेको थियो ।प्रहरीका अनुसार दुर्घटनामा परी ट्रकका ६ जना र बसका २ जना यात्रु छन् । घाइतेमध्ये ट्रकमा सवार ३ जनाको अवस्था गम्भीर रहेको छ । ट्रकमा सवार काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका वडा नम्वर ६ का रेशम थापा, बेथानचोक गाउँपालिका वडा नम्वर ४ का ४३ वर्षीय लाइतलाल तामाङ र झापाका ५८ वर्षीय लालबहादुर राई गम्भीर घाइते भएका छन् । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका–१ का ५८ वर्षीय शेरबहादुर तामाङ, फुर्वा तामाङ र भक्तपुर सूर्यविनायक का ५८ वर्षीय रामचन्द्र अधिकारी सामान्य घाइते भएका छन् । बसमा सवार सिन्धुपाञ्चोक बाह्रबिसे नगरपालिका–२ का ७० वर्षीय युक्तबहादुर खत्री र बलेफी गाउँपालिका–६ का ६६ वर्षीय गोपिलाल पराजुली सामान्य घाइते भएको उनले बताए ।घाइतेको तत्काल उद्धार गरी पाँचखाल आधारभूत अस्पतालमा सामान्य उपचार पश्चात् धुलिखेल हस्पिटल पठाइएको छ ।बस चालक भने पाँचखाल प्रहरी चौकीको नियन्त्रणमा रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।