- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः असोज ११- दोलखा मासु उत्पादनमा आत्मनिर्भर देखिएको छ । कुखुरा, खसी र राँगा भैसीको मासुमा जिल्ला आत्मनिर्भर रहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । जिल्लामा वार्षिक करिब ४ हजार बढि मेट्रिक टन मासु उत्पादन हुने गरेको जिल्ला पशुसेवा कार्यालयका सुचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा गत आर्थिक वर्ष २०८१÷०८२ मा ४ हजार ३ सय ६३ मेट्रिक टन मासु उत्पादन भएको छ । जिल्लामा गत आर्थिक वर्ष माग २ हजार ४सय १८ मेट्रिक मासुको आवश्यक रहेको थियो । जिल्लामा गत वर्ष माग भन्दा १ हजार ९ सय ४९ मेट्रिक टन मासु बढि उत्पादन भएको हो । उत्पादित मासु मध्ये जिल्लामा खपत भई बढी भएको मासु काठमाण्डौँ लगायतमा जाने गरेको बताइएको छ । जिल्लामा गत आर्थिक वर्ष सबै भन्दा कुखुरा मासुको १ हजार ७ सय ४८ मेट्रिक टन उत्पादन भएको छ भने राँगा भैसीको मासु १ हजार १ सय ९७ मेट्रिक टन उत्पादन भएको छ । त्यसैगरी जिल्लामा खसीको मासु १हजार ४७ मेट्रिक टन र वंगुरको मासु ३ सय १७ मेट्रिक टन उत्पादन भएको हो । जिल्लामा व्यावसायिक बाख्रापालक कृषकको सङ्ख्या समेत बढ्न थालेको बताइएको छ । जिल्लामा गत असार महिना सम्मको तथ्याङका अनुसार ५ लाख ४८ हजार ५ सय ४४ वटा कुखुरा रहेका छन् भने, खसी बोकाको सङख्या १ लाख ९३ हजार ८ सय ७०,राँगा भैसी २६ हजार ८ सय ६६,वंगुर ९ हजार ८ सय ७५ र भेडा ११ हजार ३ सय ३२ वटा रहेको जिल्ला पशुसेवा कार्यालय दोेलखाले जनाएको छ ।