- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ःमंसिर २९- दोलखाको सदरमुकाम चरिकोटमा अन्तरपालिका स्तरीय विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाई दोलखाको आयोजनामा भएको प्रदर्शनीमा जिल्लाको भीमेश्वर नगरपालिकाको मोडर्न नेपाल बोडिङ स्कुल प्रथम भएको छ भने शैलुङ गाउँपालिकाको वीरेन्द्र मावि द्वितीय,गौरीशङ्कर गाउँपालिकाको निलकण्ठेश्वर मावि तृतिय भएको विज्ञान शिक्षक समाज दोलखाका अध्यक्ष सुन्दर खड्काले जानकारी दिनुभयो । उहाँँका अनुसार विजयी प्रतियोगीहरुलाई नगद ६ हजार, ५ हजार र ४ हजार रुपैयाँ नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो । प्रदर्शनीमा जिल्लाका पालिकाहरुमा भएको प्रतियोगीतामा प्रथम भएका ६वटा विद्यालयको सहभागी रहेको थियो । शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख भरत भट्रराईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख वर्जुराम घतानी, भीमेश्वर नगरपालिका नगरप्रमुख ईश्वरनारायण मानन्धर,जिल्ला प्रशासन कार्यालय दोलखाका सहयाक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आले,भीमेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख अर्जुन बहादुर कार्की, नेपानल शिक्षक संघ दोलखाका सचिव राजेश बस्नेत, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका बागमती प्रदेशका सदस्य शान्त लामा र पत्रकार दिलसागर पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।