- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ःमंसिर २६- दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाई स्मृति अस्पतालमा सरकारले प्रदान गर्ने निःशुल्क औषधी समेत नपाउने गरेको विरामीहरुले गुनासो गर्नुभएको छ । स्वास्थ्य परिक्षणमा निजी अस्पताल भन्दा सस्तो हुने गरेको भएपनि डाक्टरले लेख्नु भएको नेपाल सरकारले निःशुल्क प्रदान गर्ने औषधी समेत नपाईने विरामीहरुले गुनासो गर्नुभएको छ । नेपाल सरकारले ९८ प्रकारका औषधी,निःशुल्क उपलब्ध गराउने घोषण गरेको भएपनि दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाई स्मृति अस्पताल दोलखामा ३ प्रकारका मात्र औषधी प्राप्त हुने गरेको अस्पतालले जनाएको छ । नेपाल सरकारले निःशुल्क उपलब्ध गर्ने ९८ प्रकार औषधी मध्ये सिटामोल, जीवनजल ग्याष्ट्रिकको औषधी मात्रै अस्पतालमा प्राप्त हुने गरेको अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर अचुत पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो विरामीलाई निःशुल्क उपलब्ध गराउने औषधी नआउदाँ विरामीहरु सेवाबाट बञ्चित हुनुपरेको छ । निःशुल्क दिनुपर्ने औषधी अस्पतालमा नहुदाँ विरामीहरुलाई पालिकाका स्वास्थ्य संस्था र वडामा रहेका स्वास्थ्यचौकीहरुमा नै पाईन्छ भन्दै खालीहात पठाउनु परेको छ । नेपाल सरकारले निःशुल्क उपल्वध गराउने ९८ प्रकारका औषधी मध्ये पशुपति चौलागाई अस्पतालमा ३२ प्रकारका औषधी आवश्यक पर्ने गरेको छ । तर ३ प्रकारका मात्रै औषधी आउने गरेको अस्पताल सञ्चालक समितिका अध्यक्ष सुवास रिमालले बताउनुभयो । उहाँले भन्नुभयो उपचारका लागि अतिआवश्यक परेमा अस्पतालले निःशुल्क दिने औषधी खरिद गरेर प्रयोग गर्ने गरेको छ भने विरामीलाई औषधी विनानै फकाउन बाध्य छ । उहाँँले भन्नुभयो निःशुल्क वितरण गरिने औषधी आन्तरिक स्रोतबाट खरिद गरेर पनि विरामीलाई दिन मिल्दैन । विभिन्न प्रकारका खोप तथा एकदमै कम प्रयोग हुने ठूला औषधी संघीय स्वास्थ्य मन्त्रालयले खरिद गरेर आवश्यकताको आधारमा स्थानीय तहहरूमा वितरण गर्ने गरे पनि निःशुल्क वितरण गरिने ९८ प्रकारका मध्ये धेरै औषधी स्थानीय र प्रदेश सरकारले खरिद गर्दै आएको छ। जिल्लाको सदरमुकाम चरिकोटमा रहेको ५० शैय्या क्षमताको अस्पतामा दैनिक २ सय जना विरामी सेवा लिन आउने गरेका छन्।