- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,चैत १०- मोरङको उर्लाबारीको एक कुखुरा फार्ममा बर्ड फ्लु पुष्टि भएको सँगै दोलखामा पनि सतर्कर्ता अपनाउन पशुसेवा कार्यालय दोलखाले अनुरोध गरेको छ । दोलखामा बर्ड फ्लुको संक्रमण हुन नदिनका लागि पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशमा रोक लगाउन जिल्लाका कुखुरा पालन व्यावसाय गदै आउनुभएको व्यावसायिहरुलाई पशुसेवा कार्यालय दोलखाले अनुरोध गरेको हो । फार्मभित्र प्रवेश गर्नपर्ने भएमा अनिवार्य रूपमा निसंक्रमण गर्नुपर्ने, एउटा फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने र प्रयोग भइसकेको अण्डाको क्रेट पुनःप्रयोग नगर्न विभागले सचेत गराएको छ । फार्मको प्रवेश द्वारमा चुन वा निसंक्रामक औषधि राखिएको ‘फुटबाथ’ अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको छ। फार्मभित्र जाँदा छुट्टै बुट र एप्रोन लगाउनुपर्ने, फार्मभित्र कुकुर, बिरालो र मुसा जस्ता जनावर पस्न नपाउने व्यवस्था मिलाउन भनिएको छ। मरेका पन्छीलाई सुरक्षित तवरले खाडलमा गाड्र्नका लागि अनुरोध गरिएको जिल्ला पशुुसेवा कार्यालय दोलखाका प्रमुख डाक्टर टेकराज पौडेलले जानकारी दिनुभयो । पन्छी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्नेछ, नियमित हात धुने र स्वास्थ्यमा समस्या देखिएमा तुरुन्त चिकित्सकलाई देखाउनु पर्नेछ, पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था गरिएको हो । यदि कतै ठूलो संख्यामा पन्छी बिरामी परे वा मरेमा तुरुन्तै नजिकैको पशु सेवा निकायमा जानकारी गराउन कार्यालयले अपिल गरेको छ।