- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः भदौ २६-दोलखाका राजनीतिक दलहरुले आज साझा विज्ञप्ती जारी गरेका छन्। जिल्लाका राजनीतिक दलहरुले सशासनको पक्षमा समुन्नत लोकतन्त्रको लागि जेन- जी पुस्ताले गरेको आन्दोलनमा साहदत प्राप्त गर्नुहुने सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना र सहानुभूति व्यक्त गर्दे घाइतेहरुको सिघ स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण घाइतेहरुको निःशूल्क उपचारको लागी सरोकारवालाहरुसँग माग गरेका छन्।
यस्तो रहेको छ संयुक्त विज्ञप्ति।
१. सुशासनको पक्षमा समुन्नत लोकतन्त्रको लागि जेन- जी पुस्ताले गरेको आन्दोलनमा साहदत प्राप्त गर्नुहुने सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना र सहानुभूति व्यक्त गर्दछौं । घाइतेहरुको सिघ स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण घाइतेहरुको निःशूल्क उपचारको लागी सरोकारवालाहरुसँग माग गर्दछौं ।
२. नेपाली जनताको शताब्दीऔं लामो संघर्ष पश्चात् संविधान सभाबाट प्राप्त नेपालको संविधान २०७२ ले सुनिश्चित गरेका लोकतान्त्रिक गणतन्त्र, संघियता, समानुपातिक समावेशिता, धर्म निरपेक्षता लगायतका अधिकारहरुका विरुद्धमा हुने कुनै पनि प्रकारको सम्झौता स्वीकार्य हुने छैन । तसर्थ यी मान्यताहरुबाट पछि नहटी हालको व्यवस्थाको थप विकास गर्न हामी प्रतिबद्ध छौं ।
३. जेन- जी पूस्ताले प्रस्तुत गरेका प्रमुख मागहरू भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शितामा आधारित शासन व्यवस्था, न्याय र जवाफदेहिता प्रति समर्थन जनाउँदै भ्रष्टाचारका मामिलामा प्रभावकारी अनुसन्धान र दोषीहरूलाई कानुनी प्रक्रिया मार्फत सजाय दिनुपर्ने कुरामा हाम्रो दृढ समर्थन रहेको छ ।
४. सार्वजनिक सम्पत्तिमा आगजनी र क्षति हुदा समेत नेपाली सेना लगायतका सुरक्षा निकाय के कारणले मुकदर्शक भएर बसेका हुन् ? यस सम्बन्धमा छानवीन सहित आन्दोलनको क्रममा सुरक्षा निकायहरूको भूमिकाको गम्भीर समिक्षा र पुनरावलोकन गरिनुपर्ने माग गर्दछौं । अहिले पनि जारी रहेको विध्वंसकारी गतिविधिप्रति सुरक्षा निकायको गम्भिर ध्यानाकर्षण गराउदछौं साथै दोलखा जिल्लामा भएका छिटफुट घटना बाहेक हालसम्म शान्ति सुरक्षा कायम गराउन भूमिका खेल्नुहुने दोलखा स्थित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई धन्यवाद व्यक्त गर्दै थप सजक र सर्तक रहनका लागि आग्रह गर्दछौं ।
५. राज्यसत्ता सञ्चालनका क्रममा भएका कमीकमजोरीहरुलाई सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछौ । राज्यको प्रगतिशील रुपान्तरण गर्दै जनताको आकांक्षा अनुरुप विकास, न्याय र समृद्धिको यात्रामा सबैसँग हातेमालो गर्ने अवसर आगामी दिनहरुमा अझ विकसित हुँदै जाने प्रण गर्दछौ ।
६. वर्तमान तरल अवस्थामा नजिकिदै गरेको चाडपर्वहरुलाई मध्यनजर गर्दै महंगी, कालोबजारी, कृतिम अभाव नियन्त्रण गर्न र उपभोग्य बस्तुहरु सर्वसुलभरुपमा उपभोक्ताहरुलाई उपलब्ध गराउन सम्बन्धित निकायलाई अपिल गर्दछौं ।
७. मुलुकभर भएको घटनाको निष्पक्ष छानविन गरि दोषी उपर कानुन बमोजिम कडा कार्वाहीको माग गर्दछौं ।
८. आगामी राजनीतिक यात्रा यस अघिका विभिन्न आन्दोलन र प्रगतिशील परिवर्तनहरूको संरक्षण गरेर मात्र तय गरिनुपर्छ भन्नेमा हामी प्रष्ट छौं । जेन- जी पुस्ताका युवाहरू समेत वर्तमान संविधानको रक्षा गर्दै अघि बढ्ने कुरामा जोड दिईरहेको सन्दर्भमा आगामी राजनीतिक निकास लोकतान्त्रिक मूल्यमान्यताको अधिनमा रहेर नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति कार्यालयबाट मात्र गरिनुपर्नेमा जोड दिन चाहन्छौं ।
आदरणीय दोलखाबासी बुबा आमा तथा दाजुभाइ दिदी बहिनीहरु यस विषम परिस्थितिमा संयमित, सजक र सर्तकताका साथ नेपालको लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियस्वाधिनता र सार्वभौमसत्ताको रक्षाका निमित्त आउन सक्ने परिस्थितिको समाना गर्न तयारी अवस्थामा रहन हार्दिक अपिल गर्दछौं ।
आज जारी गरिएको संयुक्त विज्ञप्तीमा नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ ,नेपाली काङ्ग्रेस दोलखाका सभापति बर्मा लामा,माओबादी केन्द्र दोलखाका सचिव भिम बहादुर श्रेष्ठ, रास्वपाका सचिव रमेश श्रेष्ठ र एकिकुत समाज पार्टीका सचिव मोहन बहादुर थापाले हस्ताक्षर गर्नु भएको छ।