- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः असोज २०- दोलखामा चाडपर्वका बेलामा सार्वजनिक सवारीसाधनले यात्रुहरुसँग बढि भाडा लिने गरेको पाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ। जिल्लामा चाडपर्वका बेलामा सार्वजनिक सवारीसाधनले यात्रुहरुबाट चर्को भाडा असुल्ने गरेको गुनासो आएपछि आज गरिएको छड्के अनुगमनका क्रममा यात्रुरुहरूबाट बढी भाडा असुल्ने १३ वटा सवारीका साधानहरुलाई कारबाही गरी यात्रुको भाडा फिर्ता गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्रराईले जानकारी दिनुभयोे । उहाँका अनुसार यात्रुसँग बढि भाडा लिने १० वटा यात्रुबाहक बस, २ वटा इभी र १ सुमोलाई कारबाही गरिएको हो । बसको चरिकोटबाट काठमाण्डौँको भाडा ५ सय ३० रुपैयाँ रहेकोमा १ हजार रुपैयाँ लिएको पाईएको छ भने ईभीको ७ सय ५० रुपैयाँ भाडा रहेकोमा १ हजार रुपैयाँ र सुमोको जिरीको गर्जाङबाट काठमाण्डौँको भाडा १ हजार ५ सय रुपैयाँ रहेकोमा २ हजार रुपैयाँ लिएको पाईएको हो ।सवारीसाधनलाई कारबाही गरी यात्रुसँग लिएको बढी भाडा फिर्ता गराएको छ । यात्रुहरुको गुनासो आएसँगै प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी नायव उपरिक्षक ज्ञानकुमार महतो र जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्रराई लगायतको टोलीले आज छड्के अनुगमन गरेको हो ।