Sunday, February 1, 2026

गणेशरुपी बिचौलिया बन्न नसक्दा टिकट पाइएन : बालकृष्ण शिवाकोटी


अगेनो न्यूज : माघ ११ - नेकपा एमाले दोलखाका नेता तथा ०७९ का उम्मेदवार बालकृष्ण शिवाकोटीले जनताको मनमा बसेर मात्रै टिकट नपाइने अनुभव साझा गर्नुभएको छ ।   टिकट पाउने हो भने केन्द्रिय नेतृत्वको वरिपरि घुमिरहने र उनिहरुको आवश्यकता पूरा गर्नेतर्फ ध्यान दिनुपर्ने  बताउनुभएको छ । त्यस्तो गर्न आफुले नसकेको स्विकार्दै  फेसबुक वालमा लेख्नुभएको छ "पटकको निर्वाचन प्रक्रियामा म दोलखा जिल्लाबाट नेकपा (एमाले) का हजारौँ इमानदार कार्यकर्ता, शुभेच्छुक र आम जनताको आशा, भरोसा र अपेक्षाको प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न चाहेको थिएँ। यो मेरो व्यक्तिगत महत्वाकांक्षा मात्र होइन, दोलखाली जनताको भरोसा, संघर्ष र सपना बोकेको जिम्मेवारी पनि थियो।

२०७९ सालको निर्वाचनमा, अत्यन्तै कठिन राजनीतिक परिस्थितिका बीच महागठबन्धनविरुद्ध लड्दै म झिनो मतान्तरले पराजित हुनुपर्‍यो। त्यो हार केवल मतको गणनामा सीमित थिएन, त्यो हार मेरो मन, भावनामा र सपनामा परेको गहिरो चोट थियो। जित निकाल्न नसक्नुका पछाडि बाह्य शक्तिहरू मात्र होइन, पार्टीभित्रैबाट भएका केही अस्वाभाविक, पीडादायी र आत्मघाती गतिविधिहरू पनि जिम्मेवार थिए भन्ने कुरा पार्टी र कार्यकर्ताहरूले समीक्षा गरिसकेका छन्। यथार्थ तितो हुन्छ, तर मौन बस्नुभन्दा स्वीकार गर्नु नै इमानदारी हो।

२०७९ सालकै निर्वाचन सन्दर्भमा, म दोलखा प्रदेशसभा ‘ख’ बाट उम्मेदवार बन्ने लगभग निश्चित भइसकेको अवस्थामा तत्कालीन पोलिटब्युरो सदस्य कमरेड पार्वत गुरुङ स्वयंले आफू मतदाताबीच लोकप्रिय नभएको कारण निर्वाचन नलड्ने घोषणा गर्नुभयो र मलाई प्रदेशसभाबाट प्रतिनिधिसभाको उम्मेदवार बन्न प्रेरित गर्नुभएको प्रसंग आज पनि मेरो स्मृतिमा ताजै छ। जनताको मनमा स्थान हुँदाहुँदै पनि उम्मेदवार सिफारिसका क्रममा जसरी योजनाबद्ध रूपमा तिकडम, अन्याय र अस्वस्थ राजनीतिक खेल खेलियो, त्यसले मलाई मात्र होइन, असंख्य इमानदार कार्यकर्ताको मन पनि गहिरो रूपमा दुखायो। त्यो पीडा शब्दमा व्यक्त गर्न कठिन छ।

महागठबन्धन, दर्जनौँ स्थानमा भएको बुथक्याप्चर, राज्य संयन्त्रको दुरुपयोग र अनेक प्रतिकूलताबीच पनि मैले झिनो मतान्तरले हार व्यहोर्नुपर्‍यो। पार्टीका आम सदस्य, शुभेच्छुक र मतदाताको अपार माया, विश्वास र सदासयता हुँदाहुँदै पनि नतिजा अनुकूल नआउनु मेरो जीवनको सबैभन्दा पीडादायी क्षणहरूमध्ये एक हो। ती कारणहरू सबैलाई विदित छन्, त्यसैले म यहाँ फेरि घाउ कोट्याउन चाहन्नँ।

उम्मेदवार छनोटदेखि निर्वाचन अभियानसम्म, दिन–रात नभनी साथ दिनुहुने, ढाडस दिनुहुने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक र सिंगो दोलखावासीप्रति म शब्दमा बयान गर्न नसकिने कृतज्ञता व्यक्त गर्दछु। तपाईंहरूको भरोसा र माया नै मेरो सबैभन्दा ठूलो राजनीतिक पूँजी हो। तपाईंहरूको अपेक्षालाई यस पटक व्यवहारिक रूपमा साकार पार्न नसक्नु मेरो जीवनको एउटा गहिरो पीडा हो, त्यसका लागि म सम्पूर्ण दोलखावासीसँग विनम्रतापूर्वक क्षमाप्रार्थी छु।

राजनीति बाहेकको जीवनमा पनि म दोलखाली जनताको सुख–दुःखबाट कहिल्यै अलग भएको छैन। भूकम्पले घर ढलेका बेला, कोरोनाले सास रोकिने डर छाएका बेला, बाढी–पहिरोले बस्ती बगाएका क्षणमा म सकेको ठाउँमा, सकेको रूपमा दोलखावासीको साथमा उभिन खोजेँ। उद्यमशीलता प्रवर्द्धन, पूँजी परिचालन र रोजगारी सिर्जनामार्फत जिल्लालाई आत्मनिर्भर बनाउने सपना पनि मैले कहिल्यै त्यागेको छैन।

म मैदानबाट भाग्ने मान्छे होइन। म मैदानमै छु, मैदानमै रहनेछु। राजनीति मेरो पेशा होइन, मेरो प्रतिबद्धता हो। म स्वेच्छाले राजनीतिमा लागेको हुँ। उद्योग–व्यवसायबाट आफ्नै पसिनाले कमाएको स्रोत प्रयोग गरी देश, दोलखा र पार्टीलाई सहयोग गर्नु यदि कसैको नजरमा कमजोरी हो भने त्यसलाई म सहर्ष स्वीकार गर्छु।उम्मेदवार बन्न नसक्नुमा म सम्पूर्ण मतदाता र पार्टीका इमानदार कार्यकर्ताहरू समक्ष विनम्रतापूर्वक क्षमाप्रार्थी छु। मैले एउटा कुरा गहिरो रूपमा बुझ्ने अवसर पाएँ—उम्मेदवार बन्न जनताको मनमा बसेर मात्र नपुग्ने रहेछ। नेतृत्वका वरिपरि घुम्ने, आफूलाई सर्वेसर्वा ठान्ने, गणेशरूपी बिचौलियाहरूको असीमित र नाजायज आकांक्षा पूरा गर्न सक्नुपर्ने रहेछ। पद, प्रभाव र स्वार्थको त्यो साँघुरो घेराभित्र पस्न नसक्नु मेरो कमजोरी होइन, मेरो स्वभाव हो। त्यो बाटो मबाट सम्भव भएन, र म त्यसमा गर्व गर्छु" ।

अन्त्यमा, पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारलाई विजयको सुभकामना व्यक्त  गर्दछु।

म हारेर थाकेको छैन,

म अझै पनि दोलखाको माटोसँग जोडिएको छु।

धन्यवाद।

जय नेकपा (एमाले), जय दोलखा,

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like